रुकुम पश्चिममा लैंगिक हिंसा निवारण संजालको बैठक सम्पन्न : हिंसा प्रभावितको पुनर्स्थापना र जीविकोपार्जनमा जोड
रुकुम - रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा लैंगिक हिंसा प्रभावितहरूको पुनर्स्थापना र जीविकोपार्जनका विषयमा सरोकारवाला तथा लैंगिक हिंसा निवारण संजालको बैठक सम्पन्न भएको छ। मंगलबार सानीभेरी गाउँपालिकाको आयोजना तथा समन्वय र सोसेक नेपालद्वारा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रमअन्तर्गत उक्त बैठक गरिएको हो। युरोपियन युनियन र युएनएफपीएको आर्थिक सहयोगमा संचालित यस कार्यक्रमले समाजमा रहेका हानिकारक सामाजिक मूल्य मान्यता परिवर्तन र हिंसा रोकथाममा जोड दिएको छ।
सानीभेरी गाउँपालिका उपाध्यक्ष तथा लैंगिक हिंसा निवारण संजालकी संयोजक कमला रोका पुनको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै उनीले लैंगिक हिंसामा परेका महिलाहरूलाई सोसेक नेपालको साझेदारीमा महत्त्वपूर्ण योगदान पुगेको बताइन्। सरोकारवाला सबै मिलेर सानीभेरी गाउँपालिकामा महिलामैत्री, लैंगिकमैत्री, अपाङ्गमैत्री र बालमैत्री परिवार एवं समाज निर्माणका लागि काम गर्नुपर्नेमा उनीले जोड दिइन् र यसका लागि आफू सधैं प्रतिबद्ध रहने विचार व्यक्त गरिन्।
त्यस्तै, सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले सशक्त महिलाले मात्र समाज र राष्ट्रलाई समृद्ध बनाउन बढी योगदान दिन सक्ने जिकिर गरे। उनीले यो कार्यक्रमले लैंगिक समानता र समावेशी समाज निर्माण गर्न ठूलो सहयोग गर्ने विश्वास दिलाए। सबै महिला र किशोरीहरूलाई समान अवसर दिँदै उनीहरूको सम्भाव्यतालाई उजागर गर्न महिला–पुरुष सबै बराबर हुन् र सबैले मिलेर काम गर्नुपर्छ भन्ने धारणा उनीले राखेका थिए।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपाल सिंह बिष्टले समाजमा पछाडि परेको वर्ग महिला भएको र यो वर्गलाई सशक्तिकरण गर्नु एवं निर्णय प्रक्रियाको पहुँचमा ल्याउनु हामी सबै सरोकारवालाको कर्तव्य भएको बताए। यस कार्यमा सोसेक नेपाल र युएनएफपीएको योगदानका लागि उनीले धन्यवाद समेत दिए।
सहभागीहरूले महिलाको आर्थिक सशक्तिकरण, उद्यमशीलता तर्फ आत्मनिर्भर हुन प्रोत्साहन र समान अवसरको वातावरण सिर्जना गर्नका लागि सबै सरोकारवाला निकायबीच सहकार्य र समन्वय गर्नुपर्ने निष्कर्ष निकालेका छन्। बैठकमा सोसेक नेपालका महासचिव ललिता भण्डारी, सदस्य लक्ष्मी भण्डारी, विषयगत शाखा प्रमुख, पत्रकार, ज्येष्ठ नागरिक प्रतिनिधि, प्रहरी, साझेदार संघ संस्थाका प्रतिनिधि र बाल क्लबका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो। युरोपियन युनियन र संयुक्त राष्ट्रसंघीय संस्थाहरूको सहयोगमा संचालित ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रमले नेपालको मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिलाहरूको नेतृत्व विकास र लैंगिक हिंसा रोकथामका लागि काम गरिरहेको छ।
प्रतिक्रिया