अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भैरवीमा देउडा प्रतियोगिता सम्पन्न
दैलेख - ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भैरवी गाउँपालिकामा 'आप्रवासन र लैङ्गिक हिंसा रोकथाम सम्बन्धी देउडा गीत प्रतियोगिता सम्पन्न भएको छ। आइतबार ए डब्लु ओ इन्टरनेसनलको आर्थिक सहयोग, सोसेक नेपालको साझेदारी र भैरवी गाउँपालिकाको समन्वयमा सञ्चालित मर्यादित र सुरक्षित वैदेशिक रोजगारीका लागि उत्थानशील जीविकोपार्जन मेल परियोजना अन्तर्गत वडा नम्बर ३ को आयोजनामा साेही वडाकाे प्राङ्गणमा प्रतियोगिता सम्पन्न भएको हो । सन् १९१० मा क्लारा जेटकिनको प्रस्तावमा श्रमिक महिलाहरूको अधिकार र समानताको आवाज उठाउँदै मनाउन सुरु गरिएको यो दिवस आज विश्वभरि नै महिला सशक्तिकरणको उत्सवका रूपमा मनाइँदै आएको छ।
प्रतियोगितामा सहभागी कुल ८ समूहमध्ये बाणगंगा युवा क्लबले प्रथम स्थान हासिल गर्यो भने मष्ट आयआर्जन कृषि समूह द्वितीय, बगौरा हरियाली कृषि समूह तृतीय र पिपल चौतारा आमा समूहले सान्त्वना स्थान प्राप्त गरे। विजयी समूहहरूलाई कार्यक्रमका अतिथिहरूले प्रमाणपत्र सहित सम्मान गरे। कार्यक्रममा बोल्दै निवर्तमान माननीय संघीय सांसद सीता कुमारी रानाले महिलाहरू अब कुनै पनि विषयमा कमजोर नरहेको बताउँदै उनले आफूमा भएको क्षमता र प्रतिभालाई उजागर गरेर आफ्नो उचित स्थान खोज्नुपर्नेमा जोड दिइन्।
यस्तै, दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले अहिले देशको नेतृत्व तहमा समेत महिलाहरूको वर्चस्व रहेको र महिलाहरू कानुनी रूपमा धेरै अधिकारसम्पन्न भएको बताए। उनले अहिलेको अवस्थामा महिलाहरू निकै सक्षम र नेतृत्वदायी भएकोले कतिपय अवस्थामा त महिलाभन्दा पुरुष नै पछि परेको जस्तो देखिने धारणा राखे।
सोही अवसरमा बोल्दै भैरवी गाउँपालिकाकी उपाध्यक्ष देवी भण्डारीले समाजमा अझै पनि आप्रवासन र लैङ्गिक हिंसाका स्वरूपहरू विद्यमान रहेकोले यस्ता कार्यक्रमले सचेतना फैलाउन मद्दत गर्ने बताइन्। उनले भनिन्, हाम्रो समाजमा महिलाहरूले घरभित्रको काम मात्र होइन, अब नीति निर्माण र सामाजिक रूपान्तरणमा पनि नेतृत्व लिनुपर्छ। तिमीहरूले आफ्नो अधिकारका लागि आफैं बोल्न सिक्नुपर्छ र लैङ्गिक विभेद विरुद्ध सधैं एकजुट हुनुपर्छ। स्थानीय सरकार महिलाहरूको आर्थिक र सामाजिक विकासका लागि सधैं साथमा छ, तर तिमीहरूले पनि आफ्नो सीप र क्षमतालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बन्नैपर्छ।'
कार्यक्रमको समापन गर्दै भैरवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्तिप्रसाद उपाध्यायले महिलाहरू सबै क्षेत्रमा सक्षम रहेको बताउँदै हरेक क्षेत्रमा उनीहरूको सक्रिय सहभागिता हुनुपर्ने र महिलाहरू आफैं पनि अघि सर्नुपर्ने बताए। उनले कार्यक्रम सफल पार्न सहयोग गर्ने संस्था सोसेक नेपाल र सहभागीहरुलाइ धन्यवाद दिएका थिए।
प्रतिक्रिया