पश्चिमबाट भित्रियो वर्षा गराउने प्रणाली : देशभर सतर्कता अपनाउन मौसमविद्को सुझाव

पश्चिमबाट भित्रियो वर्षा गराउने प्रणाली : देशभर सतर्कता अपनाउन मौसमविद्को सुझाव

काठमाडौँ - नेपालको पश्चिमी भेगबाट प्रवेश गरेको नयाँ मौसमी प्रणालीका कारण आज बिहानैदेखि देशका विभिन्न भागमा वर्षा र हिमपात सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरैजसो जिल्लाहरूमा अहिले मध्यम वर्षा भइरहेको छ।

विशेषगरी सुर्खेत, दैलेख, डडेलधुरा, बाँके र बर्दिया लगायतका क्षेत्रमा बिहानैदेखि निरन्तर झरी परिरहेको छ। यो मौसमी प्रणाली बिस्तारै पूर्वतिर सर्ने क्रममा रहेकाले दिउँसोपछि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा समेत यसको प्रत्यक्ष असर देखिने महाशाखाले जनाएको छ।

यस वर्षको चैत महिनामा स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा देशभरिकै तापक्रममा उल्लेख्य गिरावट आएको छ। वर्षासँगै हावाहुरी र असिनाको समेत जोखिम बढेकाले जनजीवन प्रभावित हुनसक्ने देखिएको छ।

महाशाखाले विशेषगरी पहाडी र हिमाली भेगमा यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। हिमपात र चट्याङको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन र मौसमको अवस्था हेरेर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई सुझाव दिइएको छ। केही दिन मौसममा आएको यो बदलाव कायम रहने मौसमविद्हरूको अनुमान छ।

प्रतिक्रिया