हुम्लामा ढिलो गरी औषधि आपूर्ति : म्याद सकिने डरले प्रयोगमा चुनौती
हुम्ला - हुम्लामा चालु आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा वार्षिक रूपमा आउने औषधि बल्ल आइपुगेको छ। प्रदेश आपूर्ति निर्देशनालय, सुर्खेतले खरिद गरेको उक्त औषधि चैत अन्तिम साता पैदल मार्गमार्फत जिल्लामा ढुवानी गरिएको हो। स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीका अनुसार आइपुगेको औषधिको म्याद अब केवल चारदेखि पाँच महिना मात्र बाँकी छ, जसका कारण यसको प्रभावकारी उपयोगमा ठूलो चुनौती देखिएको छ।
सरकारले निःशुल्क वितरण गर्ने एक सयभन्दा बढी कार्टुन औषधि हुम्लाजस्तो दुर्गम जिल्लामा यति ढिलो र छोटो म्याद राखेर पठाउनु उपयुक्त नभएको स्वास्थ्य कार्यालयको ठहर छ। समयमै आपूर्तिका लागि पटक(पटक पत्राचार गरिए पनि प्रदेशबाट खरिद नभएको जवाफ आउने गरेकाले यो अवस्था सिर्जना भएको हो। करिब एक लाख रुपैयाँ बराबरका २५ प्रकारका यी औषधिहरू अब गाउँपालिकाहरूमा वितरण गर्नुपर्ने भए तापनि सीमित समयका कारण धेरै औषधि प्रयोग हुन नपाई नष्ट हुने जोखिम बढेको छ।
गत साउनदेखि नै औषधिको अभाव झेल्दै आएका यहाँका स्वास्थ्य संस्थाले हालसम्म प्रदेशबाट माग गरेर वा स्थानीय तहबाट सापटी लिएर सेवा सञ्चालन गर्दै आएका थिए। स्वास्थ्य सेवा कार्यालयले भविष्यमा यस्तो समस्या नदोहोरिने गरी समयमै औषधि खरिद र ढुवानीको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
प्रतिक्रिया