दैलेखमा दुई दिने व्यावसायिक मौरीपालन तालिम सम्पन्न
दैलेख - दैलेखमा दुई दिने व्यावसायिक मौरीपालन तालिम सम्पन्न भएको छ । कृषि विकास कार्यालय दैलेखको आयोजनामा वैशाख ९ र १० गते सञ्चालन भएको दुई दिने व्यावसायिक मौरीपालन तालिम सफलतापूर्वक सम्पन्न भएको हो । मौरीपालनलाई आधुनिक, लाभदायक र दिगो व्यवसायका रूपमा विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताइएको छ ।

तालिममा सहभागी कृषकहरूले मौरीपालनका आधारभूत तथा उन्नत प्रविधि, घार व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण, मह उत्पादन र बजारीकरण सम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेका छन् । तालिमका मुख्य प्रशिक्षक तथा नेपाल मौरीपालन महासंघ कर्णाली प्रदेशका अध्यक्ष लीलाराम ढकालले मह र मौरी दुवै बिक्री गर्न सकिने भएकाले यो व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने बताए। उनले मौरीपालन व्यवसायको विकासमा महासंघको निरन्तर सहयोग रहने पनि उल्लेख गरे ।
ढकालका अनुसार तालिममा मौरीको स्याहार–सुसार, स्वास्थ्य व्यवस्थापन, उत्पादन वृद्धि गर्ने उपाय तथा आधुनिक प्रविधिको प्रयोगबारे विस्तृत छलफल गरिएको थियो। तालिमको मुख्य उद्देश्य मौरीपालनलाई व्यावसायिक बनाउँदै कृषकहरूको आम्दानी वृद्धि गर्नु रहेको जनाइएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले कृषकहरूलाई परम्परागत खेतीसँगै आधुनिक र व्यावसायिक कृषि प्रणालीतर्फ उन्मुख हुन आवश्यक रहेको बताए। कम लगानीमा बढी आम्दानी गर्न सकिने भएकाले मौरीपालन व्यवसायमा अन्य कृषकलाई पनि आकर्षित गर्न सहभागीहरूको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे।
तालिमको समापन गर्दै कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले आयआर्जन वृद्धि र आत्मनिर्भरता अभिवृद्धिका लागि यस्ता सीपमूलक तालिम अत्यन्त उपयोगी हुने बताए। उनले मौरीपालन जस्तो व्यवसायलाई विस्तार गर्न कार्यालयले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
तालिममा भगवतीमाई गाउँपालिका, नारायण नगरपालिका, भैरवी गाउँपालिका र ठाँटिकाँध गाउँपालिकाका मौरीपालन व्यवसायमा संलग्न २३ जना कृषकहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया