युएईविरुद्ध नेपालको जित
काठमाडौं- आईसीसी विश्वकप लिग २ क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपालले युएईमाथि ३७ रनको जित हासिल गरेको हो। नेपालले जितका लागि दिएको २०० एक रनको चुनौती पछ्याएको युएई ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६३ रनमा समेटियो।
युएईका लागि हरप्रीत सिंहले ३९ रन जोडे भने कप्तान मोहम्मद वसीमले ३४ रन बनाए। बलिङतर्फ नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। यस्तै, सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई÷दुई विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय रनको योगफल बनाएको थियो। नेपालका लागि दीपेन्द्रसिंह एरीले सर्वाधिक ७५ रनको योगदान दिए। उनले ९० बलमा पाँच चौका र दुई छक्कासहित ७५ रन बनाएका हुन्।
नेपालको सुरुआत कमजोर रहँदा आसिफ शेख सात रनमै आउट भए भने कप्तान रोहित पौडेल केवल दुई रनमा पेवेलियन फर्किए। यस्तै, कुशल भुर्तेलले २४ रन, बसिर अहमदले २० रन तथा करण केसीले २२ रनको योगदान दिए। अन्य खेलाडीमा भीम सार्कीले १० तथा आरिफ शेख र सोमपाल कामीले समान १५-१५ रन बनाए । बलिङतर्फ युएईका जुनैद सिद्दिकी, अजय कुमार र खुजैमा तनवीरले समान तीन÷तीन विकेट लिए। अब यही वैशाख १४ गते नेपालले ओमानसँग खेल्नेछ ।
प्रतिक्रिया