शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर नौमुलेमा : ७५ जनाले पाए सेवा
दैलेख–नौमुले गाउँपालिका दैलेखमा बिहीबार सञ्चालन गरिएको शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरमार्फत ७५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण, उपचार र सहयोग सामग्री प्राप्त गरेका छन् । अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा र कर्णाली प्रदेश पुनर्स्थापना केन्द्रको आयोजनामा, नौमुले गाउँपालिकाको समन्वय तथा बि एन बि.हस्पिटल,सोसेक नेपाल द्वारा सञ्चालित “हातेमालो” परियोजनाको संयुक्त साझेदारीमा आयोजना गरिएको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेको उक्त शिविरमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, उपचार तथा सहायक सामग्री वितरण गरिएको हो ।

शिविरमा नौमुले गाउँपालिकाका सबै वडाबाट अपाङ्गता भएका बालबालिका तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । गाउँपालिकाका अध्यक्ष छवि सुवेदीले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा गाउँपालिकाको महिला शाखा, स्वास्थ्य शाखा, शिक्षा शाखा तथा अस्पतालका डाक्टरहरूको समेत उपस्थिति रहेको थियो ।
सहभागी बिरामीहरू हड्डी पाकेर लामो समयदेखि पीप आइरहने, औँला टाँसिएका वा बढी भएका, कृत्रिम हातखुट्टाको आवश्यकता भएकाहरू, हड्डीको टिबी रोग लागेका, शरीरका जोर्नी बाङ्गा भएका तथा ओठ–तालु फाटेका व्यक्तिहरूको पनि जाँच गरिएको डा। वर्षा खनालले जानकारी दिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सुवेदीले भने “गाउँपालिकासँग समन्वय गरी सोसेक नेपाल र अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा र कर्णाली प्रदेश पुनर्स्थापना केन्द्रले हालसम्म अपाङ्गताको क्षेत्रमा राम्रो कार्य गर्दै आएको र आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा कार्य गर्ने विश्वास व्यक्त गरेका थिए ।
कर्णाली प्रदेश पुनर्स्थापना केन्द्रका होमराज केसीका अनुसार शिविरमा आगोले पोलेर अङ्ग टाँसिएका, खुट्टा लुला वा कमजोर भएका, हड्डी भाँचिएर बाङ्गा भएका, जोर्नी तथा घुँडामा समस्या भएका, ढाड बाङ्गो वा कुप्रो भएका, जोर्नी दुख्ने वा सुन्निने समस्या भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको बताए ।
शिविरमा सहभागि अमर बहादुर बस्नेत भन्छन- आफ्नै गाउँपालिकामा यस्तो शिविर सञ्चालन भएकोमा अत्यन्त खुसी व्यक्त गर्दै आफूले सहायक सामग्री प्राप्त गरेकोमा आयोजक संस्था प्रति धन्यवाद व्यक्त गरे। त्यसै गरी, नवीन सुनार ले पनि अस्पतालमा यस्तो शिविर सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै गाउँपालिका र साझेदार संस्था सोसेक नेपाललाई धन्यवाद दिए ।
उक्त शिविरमार्फत ७५ जना अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूले सेवा तथा सुविधा प्राप्त गरेका थिए । तीमध्ये १५ जना अपाङ्गता भएका बालबालिकालाई थप उपचार तथा पुनर्स्थापनाका लागि सुर्खेतमा रिफर गरिएको छ । साथै, १८ जना अपाङ्गता भएका व्यक्तिहरूलाई बैसाखी, ह्विलचियर, स्टिक, एल्बो क्रच लगायतका सहायक सामग्री वितरण गरिएको छ ।
त्यसै गरी, शल्यक्रियाका लागि ९ जनालाई डाक्टरसँग परामर्श गरी सुर्खेत रिफर गरिएको छ भने ८ जना मनोसामाजिक समस्या भएका व्यक्तिहरूलाई काउन्सिलिङ सेवा प्रदान गरिएको साझेदार संस्था सोसेक नेपालले ज्वाला सन्देशलाई जानकारी दिएको छ ।
प्रतिक्रिया