कर्णाली प्रदेश युवा सम्मेलन सम्पन्न, १५ सदस्यीय युवा नागरिक मञ्च गठन तथा ९ बुँदे घोषणापत्र जारी
सुर्खेत— कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित दुईदिने कर्णाली प्रदेश युवा सम्मेलन बिहीबार सम्पन्न भएको छ। गैरसरकारी संस्था महासङ्घ नेपाल, कर्णाली प्रदेशको आयोजना तथा युवा अभियान नेपालको सहकार्यमा आयोजित सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका करिब ८५ जना युवाको सहभागिता रहेको थियो।
कर्णाली प्रदेशका हरेक क्षेत्र र जिल्लाबाट युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्दै उनीहरूलाई साझा मञ्चमा ल्याउने उद्देश्यसहित आयोजित सम्मेलनमा युवा नेतृत्व, डिजिटल नागरिक, सुशासन, रोजगारी, उद्यमशीलता, जलवायु परिवर्तन, मानसिक स्वास्थ्य तथा युवा सहभागिताका विषयमा छलफल गरिएको थियो।
सम्मेलनको उद्घाटन गर्दै कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले युवाहरूलाई विकास प्रक्रियामा सक्रिय रूपमा सहभागी गराउन आवश्यक रहेको बताए । उनले डिजिटल युगमा आधुनिक प्रविधिको सही उपयोग गर्न सक्ने दक्ष जनशक्ति निर्माण आजको आवश्यकता भएको उल्लेख गर्दै युवाहरूलाई डिजिटल नागरिकता सम्बन्धी ज्ञान र सीप हासिल गर्न आग्रह गरे ।
सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीका युवाहरू विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनीहरूलाई अझ सशक्त रूपमा अघि बढ्न आग्रह गरे । उनले प्रदेश सरकारले विभिन्न सूचना तथा सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउँदै आएको बताउँदै सरकारी वेबसाइट तथा डिजिटल प्लेटफर्ममार्फत प्राप्त हुने सूचनाको सदुपयोग गर्न युवाहरूलाई अनुरोध गरे ।
“कर्णालीमा यातायातलगायतका पूर्वाधारमा सहज पहुँच विस्तार गर्न सकियो भने प्रदेशले देशको विकासमा ठूलो योगदान पु¥याउन सक्छ,” मन्त्री भण्डारीले भने । उनले युवामा जागरूकता र विकासप्रतिको चासो बढे कर्णालीको समग्र विकासले थप गति लिने विश्वास व्यक्त गरे।
सम्मेलनबाट कर्णालीका १० वटै जिल्लाको प्रतिनिधित्व रहने गरी भावना शाहीको संयोजकत्वमा १५ सदस्यीय प्रदेशस्तरीय युवा नागरिक मञ्च गठन गरिएको छ। मञ्चको सह–संयोजकमा कालिकोटकी सत्या उपाध्याय तथा दैलेखका सचिवमा राजेश खनाल चयन भएका छन्। समितिमा यौनिक तथा अल्पसंख्यक समुदाय, आदिवासी तथा सीमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिको समेत समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
सम्मेलनले ‘कर्णाली प्रदेश युवा घोषणापत्र–२०८३’ तथा ९ बुँदे साझा घोषणापत्र जारी गरेको छ। घोषणापत्रमा अध्ययन, अनुसन्धान तथा नवप्रवर्तन, प्राविधिक तथा व्यावसायिक शिक्षा, आर्थिक अवसर तथा रोजगारी, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन, युवा अधिकार, स्वास्थ्य तथा मानसिक स्वास्थ्य, सुशासन तथा सार्थक सहभागिता, डिजिटल सुरक्षा तथा सुरक्षित प्रयोग तथा विकास निर्माणका विषयलाई प्राथमिकताका साथ समेटिएको छ।

घोषणापत्रमार्फत गुणस्तरीय शिक्षा, सीपमूलक तालिम, उद्यमशीलता प्रवद्र्धन, सम्मानजनक रोजगारी, डिजिटल साक्षरता, मानसिक स्वास्थ्य सेवा, युवा सहभागिता, सामाजिक न्याय, वातावरण संरक्षण तथा दिगो विकास सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय सरकारसँग प्रभावकारी कार्यान्वयनको माग गरिएको छ।
सम्मेलनले कर्णाली प्रदेशका युवाहरूको साझा आवाजलाई सशक्त बनाउँदै जिम्मेवार, प्रविधिमैत्री र लोकतान्त्रिक समाज निर्माणमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै घोषणापत्रमा उल्लेखित बुँदाहरू कार्यान्वयनका लागि सरकार, नागरिक समाज तथा निजी क्षेत्रसँग सहकार्यको अपेक्षा गरिएको छ।
सम्मेलनमा गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय महासचिव देवी खड्का, युथ अभियान नेपालका महासचिव सुस्मिता यादव, महासङ्घका केन्द्रीय कोषाध्यक्ष गोविन्द साही, गैरसरकारी संस्था महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम केसी, कार्यक्रम संयोजक पवित्रा केसी, सोसेक नेपाल दैलेखका संस्थापक तथा कार्यकारी निर्देशक हिरा सिंह थापा, प्लान इन्टरनेसनल नेपालकी मीना पराजुलि , लगायत विभिन्न प्रशिक्षक, नागरिक समाजका प्रतिनिधि तथा युवाहरूको सहभागिता रहेको थियो।
गैरसरकारी संस्था महासङ्घ नेपाल, कर्णाली प्रदेशका अध्यक्ष घनश्याम केसीको अध्यक्षतामा सम्पन्न सम्मेलनको सञ्चालन पहिलो दिन गैरसरकारी संस्था महासङ्घ सुर्खेतका सचिव बिन्दुलाल रेग्मिले गरेका थिए, दोस्रो दिन गैरसरकारी संस्था महासङ्घ नेपाल, कर्णाली प्रदेशका कोषाअध्यक्ष चन्द्र प्रकाश शर्मा विभिन्न सहजकर्ताहरूले गरेका थिए ।
प्रतिक्रिया