दैलेखको कोतगढीमा ‘ग्रीन कर्णाली’ को संकल्पः वातावरण संरक्षणमा जुट्यो युवा पुस्ता

दैलेखको कोतगढीमा ‘ग्रीन कर्णाली’ को संकल्पः वातावरण संरक्षणमा जुट्यो युवा पुस्ता

दैलेख - विश्व वातावरण दिवस–२०२६ को अवसरमा शुक्रबार दैलेखको नारायण नगरपालिका –१ स्थित ऐतिहासिक कोतगढीमा ‘कर्णालीलाई हरित, स्वच्छ र दिगो बनाउने’ उद्देश्यसहित एक विशेष प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ। सम्बन्ध नेपाल ले ग्लोबल युथ मोबिलाइजेसन’ को आर्थिक सहयोगमा सञ्चालन गरिरहेको ‘ग्रीन कर्णाली’ परियोजना अन्तर्गत आयोजित उक्त कार्यक्रममा विकास र वातावरणलाई सँगसँगै लैजाने साझा संकल्प गरिएको छ।

कार्यक्रममा नारायण नगरपालिकाका उपप्रमुख तप्ता कुमारी थापाले विकास निर्माणका कार्य गर्दा वातावरण संरक्षणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताइन्। उनले विकास र वातावरण एक–अर्काका विरोधी नभई परिपूरक भएको उल्लेख गर्दै दुवैलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिइन्। त्यसैगरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम सापकोटाले योजनाहरूको कार्यान्वयनमा वातावरणमैत्री नीति अबलम्बन गर्न प्रशासनिक तहबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए।

छलफलमा गैरसरकारी संस्था महासंघ, दैलेखका अध्यक्ष डिल कुमारी चन्दले समुदायको सक्रिय सहभागिता बिना वातावरण संरक्षण सम्भव नहुने विचार व्यक्त गरिन्। साथै, सम्बन्ध नेपालकी अध्यक्ष भावना खड्काले कर्णालीलाई हरित बनाउने अभियानमा युवाहरूको ऊर्जा नै मुख्य आधार भएको बताइन्। कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनका कारण खेतबारी र पानीका मुहानमा परेका असरहरूबारे चिन्ता व्यक्त गर्दै फोहोर व्यवस्थापन र प्लास्टिकको प्रयोग न्यूनीकरणमा जोड दिएका थिए।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले ९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। उक्त पत्रमा हरित जीवनशैली, प्लास्टिक न्यूनीकरण, वृक्षारोपण, जलस्रोत संरक्षण, फोहोर व्यवस्थापनमा सुधार, हरित विद्यालयको स्थापना, नवीकरणीय ऊर्जाको प्रयोग र सरोकारवाला निकायबीचको सहकार्यलाई प्राथमिकता दिइएको छ। ऐतिहासिक कोतगढी परिसरमा आयोजित यस कार्यक्रमले विकास र वातावरणलाई सहयात्रीका रूपमा अगाडि बढाउने साझा सपनालाई थप बलियो बनाएको छ।

प्रतिक्रिया