विषाक्त समाजदेखि विषाक्त सामाजिक सञ्जालसम्मः बदलिँदो पुरुषत्व, महिलाको दोहोरो जिम्मेवारी र समानताको अधुरो यात्रा

विषाक्त समाजदेखि विषाक्त सामाजिक सञ्जालसम्मः बदलिँदो पुरुषत्व, महिलाको दोहोरो जिम्मेवारी र समानताको अधुरो यात्रा

नेपाल परिवर्तनको यात्रामा छ। सडक, सञ्चार, शिक्षा, सूचना प्रविधि र डिजिटल सेवाको विस्तारसँगै हाम्रो जीवनशैली तीव्र रूपमा बदलिएको छ। केही दशकअघि घरको चौघेराभित्र सीमित मानिने महिलाहरू आज विद्यालय, विश्वविद्यालय, सरकारी सेवा, निजी क्षेत्र, राजनीति, उद्यमशीलता र नेतृत्वका विभिन्न क्षेत्रमा उल्लेख्य उपस्थितिका साथ अघि बढिरहेका छन्। छोरीहरू उच्च शिक्षा हासिल गरिरहेका छन्, आर्थिक रूपमा आत्मनिर्भर बन्दै छन् र समाजको विकासमा सक्रिय योगदान दिइरहेका छन्।
 

तर एउटा प्रश्न अझै पनि हाम्रो समाजको बीचमा उभिएको छ— के समाजको सोच पनि त्यही गतिमा परिवर्तन भएको छ?

दुर्भाग्यवश, धेरै अवस्थामा उत्तर “होइन“ नै छ।
पहिले विवाहका लागि “घरको काम जान्ने“ छोरी खोजिन्थ्यो भने आज “पढेकी, जागिरे र राम्रो आम्दानी गर्ने“ बुहारीको खोजी बढेको छ। यो परिवर्तन सकारात्मक देखिन्छ। तर विडम्बना के छ भने जागिर गर्ने महिलाबाट पनि घरको सम्पूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने अपेक्षा अझै कायम छ। बिहानदेखि रातिसम्म घरको काम, बालबालिकाको हेरचाह, वृद्धवृद्धाको सेवा र त्यसपछि कार्यालयको जिम्मेवारी पूरा गर्ने महिलाको दैनिकी आज पनि धेरै परिवारको यथार्थ हो। महिलाको तलब परिवारको साझा आम्दानी बन्छ, तर घरायसी श्रम भने अझै पनि “महिलाकै जिम्मेवारी“ मानिन्छ। यही अवस्थालाई “डबल बर्डन“ अर्थात् दोहोरो जिम्मेवारी भनिन्छ।वास्तविक समानता अवसरमा मात्र होइन, जिम्मेवारीको समान बाँडफाँटमा पनि देखिनुपर्छ। यदि महिलाले घर र बाहिर दुवै ठाउँको पूर्ण जिम्मेवारी वहन गर्ने र पुरुषको भूमिका उही पुरानै रहने हो भने त्यसलाई सामाजिक परिवर्तन भन्न सकिँदैन। यही समयमा हाम्रो समाजमा अर्को शक्तिशाली परिवर्तन भइरहेको छ। परिवार, विद्यालय र समुदायले निर्माण गर्ने सोचमा अहिले सामाजिक सञ्जालको प्रभाव अत्यन्त बढेको छ। फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्राम मनोरञ्जनका माध्यम मात्र होइनन्; तिनले हाम्रो सोच, सम्बन्ध, जीवनशैली र महिला–पुरुषको भूमिकाबारे धारणा पनि निर्माण गरिरहेका छन्।


समस्या सामाजिक सञ्जालको अस्तित्वमा होइन, त्यसको प्रयोगमा छ। आज लाखौँ युवाले दैनिक हेर्ने सामग्रीमध्ये धेरैमा महिलालाई वस्तुका रूपमा प्रस्तुत गरिन्छ, पुरुषत्वलाई आक्रामकता, नियन्त्रण र प्रभुत्वसँग जोडिन्छ, महिलाको सफलतालाई व्यंग्य गरिन्छ र समान सम्बन्धभन्दा नियन्त्रणलाई “माया“ का रूपमा प्रस्तुत गरिन्छ। यस्ता सामग्री धेरै “भ्यु“, “लाइक“ र “सेयर“ प्राप्त गर्छन्। सामाजिक सञ्जालका एल्गोरिदमले यिनै सामग्रीलाई अझ धेरै प्रयोगकर्तासम्म पु¥याउँछन्। यसरी विषाक्त सोच डिजिटल माध्यमबाट तीव्र गतिमा फैलिन्छ।


हामीले बुझ्नुपर्ने कुरा के हो भने सामाजिक सञ्जाल आफैँ राम्रो वा नराम्रो हुँदैन। त्यसमा फैलिने सन्देशले समाज निर्माण पनि गर्न सक्छ र समाजलाई विभाजित पनि गर्न सक्छ। यदि समानता, सम्मान, जिम्मेवार पितृत्व, घरायसी काममा पुरुषको सहभागिता र हिंसाविरुद्धका सकारात्मक सन्देशहरू व्यापक रूपमा फैलाइए भने यही सामाजिक सञ्जाल परिवर्तनको सबैभन्दा प्रभावकारी माध्यम बन्न सक्छ। नेपालमा भएका विभिन्न अध्ययनहरूले पनि देखाएका छन् कि असमान लैङ्गिक सोच, महिलामाथि नियन्त्रण गर्ने प्रवृत्ति र पितृसत्तात्मक सामाजिक मान्यताले महिलामाथि हुने हिंसालाई बढावा दिन्छ। समस्या महिलाको प्रगति होइन; समस्या त्यो सोच हो, जसले महिलाको सफलतालाई सहज रूपमा स्वीकार गर्न सक्दैन। आज हामी प्रविधिमा आधुनिक भएका छौँ। कृत्रिम बुद्धिमत्ता, डिजिटल बैंकिङ, अनलाइन शिक्षा र ई–शासनको कुरा गरिरहेका छौँ। तर यदि महिलाको निर्णय गर्ने अधिकार अझै स्वीकार गर्न सकिँदैन, पुरुषले घरको काम गर्दा उसको पुरुषत्वमाथि प्रश्न उठाइन्छ, वा महिलाको आम्दानी चाहिने तर उनको स्वतन्त्रता नचाहिने मानसिकता कायम रहन्छ भने हाम्रो विकास अधुरो नै रहनेछ। पुरुषत्वको अर्थ पनि पुनः परिभाषित गर्न आवश्यक छ। सशक्त पुरुष भनेको नियन्त्रण गर्ने व्यक्ति होइन; सम्मान गर्ने, जिम्मेवारी बाँड्ने, आफ्ना भावना अभिव्यक्त गर्न सक्ने र समान साझेदारीमा विश्वास गर्ने व्यक्ति हो। घरको काममा सहभागी हुनु पुरुषत्वको कमजोरी होइन, परिपक्वताको चिन्ह हो। महिलाको सफलताबाट असुरक्षित महसुस गर्नु होइन, त्यसमा गर्व गर्न सक्नु नै आधुनिक समाजको पहिचान हो।

अब विद्यालयले छोरीलाई मात्र होइन, छोरालाई पनि समानता सिकाउनुपर्छ। परिवारले छोरीलाई मात्र होइन, छोरालाई पनि घरायसी जिम्मेवारी बाँड्न सिकाउनुपर्छ। सञ्चारमाध्यम र सामाजिक सञ्जालका सामग्री निर्माताले लोकप्रियताभन्दा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्छ। स्थानीय सरकार, शैक्षिक संस्था र नागरिक समाजले डिजिटल साक्षरता र सकारात्मक पुरुषत्वबारे व्यापक अभियान सञ्चालन गर्न आवश्यक छ। समृद्ध नेपाल केवल अग्ला भवन, तीव्र इन्टरनेट वा आधुनिक प्रविधिले मात्र बन्दैन। समृद्ध नेपाल तब बन्छ, जब महिलाको सफलतालाई सम्मान गरिन्छ, घरको जिम्मेवारी समान रूपमा बाँडिन्छ, सामाजिक सञ्जालले विभेद होइन समानताको सन्देश फैलाउँछ, र पुरुषत्वको परिभाषा प्रभुत्वबाट साझेदारीतर्फ रूपान्तरण हुन्छ। प्रविधि बदलिएको छ। अब बदलिनुपर्ने पालो हाम्रो सोचको हो। किनभने समाजको भविष्य अब केवल विद्यालयको कक्षाकोठामा होइन, प्रत्येक परिवारको व्यवहार र प्रत्येक मोबाइलको स्क्रिनमा पनि लेखिँदैछ।

प्रतिक्रिया