रोल्पा पहिरो : मृतकको संख्या १० पुग्यो, ३ बेपत्ता
खेमबहादुर बुढा
रोल्पा- रोल्पाको थबाङ गाउँपालिका–५ उवा कोटलबारामा बुधबार साँझ पौने ८ बजेतिर गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। तीन जना अझै बेपत्ता छन् । बिहीबार बिहान घटनास्थल पुगेका रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार मृत्यु हुनेको संख्या १० पुगेको हो। घटनास्थलमा ५ र प्युठानको खोलामा ५ जनाको शव फेला पारिएको छ। मृत्यु हुने ८ जनाको सनाखत भइसकेको छ ।
मृत्यु हुनेहरूमा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनरखी पुनमगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर छन् । प्रहरीका अनुसार उनीहरुलाई घटनास्थलमै फेला पारिएको थियो। घटनास्थलमै पुगेका डाक्टरबाट पोस्टमार्टम गरेर पाँच शव आफन्तलाई जिम्मा लगाइएको प्रजिअ क्षेत्रीले जनाए ।
त्यसैगरी प्युठानको भिंग्री र चकचके माडी नदीको बगरमा थप ५ जनाको शव फेला परिएको थियो । तीमध्ये ३८ वर्षीया जुनकुमारी पुन, ९ वर्षीय अशिम पुन र ५ वर्षीय अशोक पुनको पहिचान खुलेको छ भने दुई जनाको पहिचान हुन बाँकी रहेको। पहिरो स्थलबाट आएको खोला लुंग्री हुँदै प्युठान माडी मिसिएको छ। शव करिब ७० किलोमिटर टाढा बगाएर लगेको छ ।
पहिरोमा परी गम्भीर घाइते भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई प्रादेशिक अस्पताल बुटवल लगिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको थियो । सुलिचौर–उवा सडक खण्डमा ठाउँ ठाउँमा पहिरोले बाटो अवरुद्ध भएकाले बोकेरै उपचारमा पठाइएको थियो ।
सुरुमा माथि पहाडी खोल्सामा आएको पहिरो थुनिएर लेदो र पानीसहितको पहिरो आएको अनुमान गरिएको छ। पहिरोले ९ घर, १ घुम्ती पसल, २ वटा गोठ र १ चर्च पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक पंचकुमार बाखुले बताए । घटनास्थल पुगेको संयुक्त सुरक्षा टोली र स्थानीय उद्धारमा दिनभर खटिए। पहिरो ठूलो आएको र बस्ती नै पुरिएकाले खोजी तथा उद्धार कठिन बनेकाले ३ जना अझै फेला पार्न सकिएको छैन। घटनास्थल पुगेको उद्धार टोलीले शुक्रबार पनि खोजी गर्ने जनाइएको छ ।
प्रतिक्रिया