तुर्माखाँदमा कृषक समूहलाई तरकारीको बीउ वितरण
अछाम - अछामको तुर्माखाँद गाउँपालिका–१ रहफमा कृषकहरूलाई तरकारी खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न तरकारीका बीउ वितरण गरिएको छ।
तुर्माखाँद गाउँपालिकाको समन्वय, डीसीए नेपालको साझेदारी तथा सोसेक नेपालद्वारा सञ्चालित ग्रीन कर्णाली परियोजनामार्फत श्री खरेखोला बहुउद्देश्यीय कृषि तथा पशुपन्छी पालन समूह र शान्ति भैरव कृषक समूहमा आबद्ध कृषक सदस्यहरूलाई काउली, बन्दा र टमाटरलगायतका तरकारी बालीका बीउ वितरण गरिएको हो।
बीउ वितरणसँगै कृषकहरूलाई तरकारी खेतीको प्रविधि, बीउको उचित प्रयोग, बाली व्यवस्थापन तथा उत्पादन वृद्धि गर्न अपनाउनुपर्ने उपायबारे आवश्यक प्राविधिक सल्लाह तथा सुझावसमेत प्रदान गरिएको थियो।
कार्यक्रमले स्थानीय कृषकलाई व्यावसायिक तथा आत्मनिर्भर तरकारी खेतीतर्फ आकर्षित गर्दै उत्पादन वृद्धि र आयआर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, स्थानीयस्तरमै तरकारी उत्पादन बढाएर कृषकहरूको जीविकोपार्जनमा सुधार ल्याउन परियोजनाले सहयोग गर्ने जनाइएको छ।
प्रतिक्रिया