दैलेखमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार र जलवायु न्यायसम्बन्धी ५ दिने तालिम सम्पन्न

दैलेखमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार र जलवायु न्यायसम्बन्धी ५ दिने तालिम सम्पन्न

दैलेख - सामुदायिक अगुवाहरूका लागि आयोजित यौन तथा प्रजनन स्वास्थ्य अधिकार, लैङ्गिक समानता, महिला अधिकार र जलवायु न्यायसम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ। सोसेक नेपालको आयोजना तथा आइपास नेपालको आर्थिक सहयोगमा दैलेख सदरमुकाममा रहेकाे पार्कइन हाेटलकाे हलमा  साउन २६ गतेदेखि सञ्चालन भएको उक्त तालिम शनिबार सम्पन्न भएको हो।

तालिममा दैलेखका ६ वटा स्थानीय तहका ३० जना सामुदायिक अगुवाहरूको सहभागिता रहेको थियो। जसमा भगवतीमाई गाउँपालिकाका ६ जना, नारायण नगरपालिकाका ८ जना, भैरवी गाउँपालिकाका ७ जना, नौमुले गाउँपालिकाका ४ जना, डुङ्गेश्वर गाउँपालिकाका ३ जना र ठाँटीकाँध गाउँपालिकाका २ जना सहभागी थिए।

पाँच दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूलाई सुरक्षित यौन तथा प्रजनन स्वास्थ्य, किशोरी एवं महिला अधिकारका कानुनी प्रावधानहरूबारे विस्तृत जानकारी गराइएको थियो। त्यसैगरी समाजमा व्याप्त लैङ्गिक विभेद, सुत्केरी अवस्थाका कुरीति, कुप्रथा र छुवाछुत जस्ता सामाजिक समस्या निरूपणका उपायहरूका साथै जलवायु परिवर्तनले महिला अधिकार तथा सीमान्कृत समुदायमा पार्ने प्रभाव र स्थानीय स्तरमा जलवायु न्यायका लागि गर्न सकिने पहलहरूबारे प्रशिक्षण दिइएको थियो।

तालिमको समापन सत्रमा बोल्दै सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले तालिममा सिकेका ज्ञान र सीपलाई आजैका दिनदेखि व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए। समाजमा व्याप्त विभेद र महिला अधिकार हननका प्रसङ्ग उल्लेख गर्दै उनले भने, हाम्रो समाजमा कुकुरले बच्चा पाउँदा सुरुकै दिनमा चुलोमा लिन मिल्ने, तर महिलाहरूले बच्चा पाउँदा त्यही दिनदेखि घरबाट टाढा बस्नुपर्ने अवस्था छ। हामीले समाजमा गएर यस्ता कुराहरू बुझाउनुपर्छ र काम गरेर परिवर्तन ल्याउनुपर्छ।

त्यस्तै, तालिमका सहजकर्ता विष्णुबाबु देवकोटाले तालिमको सिकाइलाई दिगो बनाउने वा केही दिनका लागि मात्र गर्ने भन्ने कुरा सहभागीहरूको हातमा रहेको बताउँदै सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्न आग्रह गरे।

तालिममा सहभागीहरूले पाँच दिनसम्म सिकेका ज्ञान र सीपलाई आफ्ना क्षेत्र तथा समाजमा लगेर व्यावहारिक रूपमा लागू गर्ने, महिला अधिकारको रक्षा गर्ने र विभेदविरुद्ध सचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया