सहर छाडेर दुर्गम रोजेका डाक्टर, बदलिँदै खिजीदेम्बा अस्पतालको मुहार
काठमाडौँ - दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउनु चुनौतीपूर्ण मानिन्छ। कठिन भूगोल, सीमित स्रोतसाधन र विशेषज्ञ जनशक्तिको अभावबीच खिजीदेम्बा आधारभूत अस्पतालले भने पछिल्लो समय सेवा विस्तारसँगै व्यवस्थापनमा समेत सुधार गर्दै गएको छ।
ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका वडा नम्बर -५ खिजीफलाटे स्थित खिजीदेम्बा आधारभूत अस्पतालमा करिब १० महिनादेखि मेडिकल अधिकृत तथा कार्यालय प्रमुखका रूपमा कार्यरत डा. समिर श्रीवास्तवको नेतृत्वमा अस्पतालको सरसफाइ, फोहोर व्यवस्थापन, विभागीय व्यवस्थापन, औषधि तथा सामग्रीको स्टक व्यवस्थापनलगायत क्षेत्रमा सुधार गरिएको अस्पतालले जनाएको छ।
बंगलादेशबाट एमबीबीएस अध्ययन पूरा गरेका डा. श्रीवास्तवले चिकित्सकीय यात्राको सुरुवात पनि बंगलादेशबाटै गरेका थिए। केही समय त्यहाँ सेवा गरेपछि नेपाल फर्किएका उनी ललितपुरको गोदावरी नगरपालिकामा सेवा गरेपछि खिजीदेम्बा पुगेका हुन्।
दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव हुने भएकाले आफूले सकेको सेवा गाउँमै पुर्याउने उद्देश्यले खिजीदेम्बा आएको डा. श्रीवास्तव बताउँछन् । ‘डाक्टरी पेसा नै सेवामूलक पेसा हो। सुगम क्षेत्रमा विज्ञ जनशक्ति धेरै छन्, तर दुर्गममा जनशक्तिको अभाव छ। मैले सकेको सेवा दिन सकेँ भने यहाँका नागरिकलाई प्रत्यक्ष फाइदा पुग्छ।’
अस्पतालमा अहिले ओपीडी, आईपीडी, स्त्री तथा प्रसूति सेवा, बर्थिङ, एमसीएच, खोप तथा पोषणसम्बन्धी सेवासँगै आयुर्वेद सेवा पनि उपलब्ध छ। एक्स–रे, गर्भवतीको अल्ट्रासाउन्ड, ईसीजी, होलबडी जाँच, ल्याब तथा आँखासम्बन्धी सेवा पनि सञ्चालनमा रहेको अस्पतालले जनाएको छ। यी सेवा २४ घण्टा सातै दिन उपलब्ध गराउने व्यवस्था गरिएको छ।
मानसिक स्वास्थ्यसम्बन्धी औषधि पनि पालिकाभर निःशुल्क उपलब्ध गराइएको छ। अस्पताललाई अपाङ्गमैत्री बनाइएको छ भने अधिकांश स्वास्थ्य सेवा निःशुल्क रहेको जनाइएको छ।
सरकारले उपलब्ध गराउने ९८ प्रकारका औषधिसँगै गाउँपालिकाले आफ्नै स्रोतबाट थप करिब २३ प्रकारका औषधि खरिद गरी निःशुल्क वितरण गर्दै आएको अस्पतालको भनाइ छ।
अस्पतालमा स्थानीय बिरामीसँगै छिमेकी जिल्ला रामेछापका विभिन्न पालिकाबाट समेत उपचारका लागि बिरामी आउने गरेका छन्। अस्पतालबाट उपलब्ध सेवा र सुविधाका कारण बाहिर जानुपर्ने बाध्यता केही हदसम्म कम भएको स्वास्थ्यकर्मीहरू बताउँछन्।
खिजीदेम्बामा बालबालिकामा टन्सिल, ज्वरो, रुघाखोकीलगायत समस्या बढी देखिने गरेको छ। त्यस्तै दुर्घटनाका कारण चोटपटक, हड्डी भाँचिने, भाइरल तथा ब्याक्टेरियल संक्रमण, टाइफाइड, एक्युट ग्यास्ट्रोइन्टेराइटिस, पेट दुख्ने, वाकवाकी तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या लिएर बिरामी आउने गरेका छन्।
अस्पतालमा सुरक्षित गर्भपतनका लागि समेत परामर्श लिन आउने गरेका छन्। १२ हप्तासम्मको सुरक्षित गर्भपतन सेवा थप व्यवस्थित रूपमा विस्तार गर्ने तयारी भइरहेको डा। श्रीवास्तवले बताएका छन्।
अस्पतालको भौतिक तथा व्यवस्थापकीय सुधारमा खिजीदेम्बा गाउँपालिकाको सहयोग महत्वपूर्ण रहेको डा. श्रीवास्तवको भनाइ छ। अस्पतालको आवश्यकता पहिचान गरी स्थानीय तहसँग समन्वय गरेर नर्सिङ स्टेसन, आईपीडी तथा ओपीडीका लागि फर्निचर, औषधि व्यवस्थापनका र्याक, ट्रली तथा बिरामीका लागि आवश्यक सामग्री थप गरिएको छ।
अब अस्पतालको मुख्य आवश्यकता भनेको अप्रेसन सेवा विस्तार, थप चिकित्सक तथा स्वास्थ्यकर्मी, दन्त सेवा र विशेषज्ञ सेवा रहेको डा. श्रीवास्तव बताउँछन्। विशेषगरी एमडीजीपी चिकित्सकको व्यवस्था हुन सके दुर्गम क्षेत्रका नागरिकले थप प्रभावकारी स्वास्थ्य सेवा पाउने उनको भनाइ छ।
दुर्गममा सेवा गर्नु चुनौतीपूर्ण भए पनि नागरिकले आफ्नै ठाउँमा आवश्यक स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले अस्पतालको सेवा थप व्यवस्थित र प्रभावकारी बनाउने प्रयास जारी रहेको डा. श्रीवास्तवले बताए।
प्रतिक्रिया