निःशुल्क कानुनी सहायता दिने विधेयक संसदमा प्रस्तुत
काठमाडौँ – सरकारले आर्थिक रूपमा विपन्न तथा असमर्थ नागरिकलाई पक्राउ पर्नेबित्तिकै निःशुल्क कानुनी सहायता उपलब्ध गराउने उद्देश्यले प्रतिनिधि सभाको बैठकमा मा नयाँ विधेयक प्रस्तुत गरेको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३’ पेश गरेकी हुन् । विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले संविधानको धारा २० मा व्यवस्था गरिएको ’न्यायसम्बन्धी हक’ लाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न यो विधेयक ल्याइएको जानकारी दिइन् ।
प्रस्तावित विधेयकमा फौजदारी मुद्दामा पक्राउ परेका तर आफ्ना लागि कानुन व्यवसायी राख्न नसक्ने व्यक्तिलाई मुद्दाको सुरुवाती चरणदेखि नै निःशुल्क कानुनी सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ । साथै, विधेयकले असमर्थ नागरिकले पाउने कानुनी सेवाको गुणस्तर सुधार र प्रभावकारिता अभिवृद्धिमा पनि विशेष जोड दिएको छ । यो विधेयक पारित भई कार्यान्वयनमा आएपछि आर्थिक अभावका कारण न्याय पाउनबाट वञ्चित हुनुपर्ने बाध्यताको अन्त्य हुने र विपन्न नागरिकको न्यायमा समान पहुँच सुनिश्चित हुने विश्वास लिइएको छ ।
प्रतिक्रिया