चाडपर्वहरुमा यातायात सहज बनाउन सरकारलाई निर्देशन

चाडपर्वहरुमा यातायात सहज बनाउन सरकारलाई निर्देशन तस्वीर - सचिवालय

काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी यातायात व्यवस्थापन प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले यात्रुको चापअनुसार पर्याप्त सवारी साधनको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

समिति सभापति आशिष गजुरेलका अनुसार निर्धारित बसपार्कबाट मात्र सवारी चलाउने, तोकिएको स्थानबाट टिकट बिक्री गर्ने, र सुरक्षित ठाउँमा मात्र यात्रु ओराल्ने(चढाउने व्यवस्था गर्न भनिएको छ ।

साथै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला र बालबालिका(मैत्री सेवा, यात्रु सहायता कक्ष, सडकको जोखिम मूल्याङ्कन, सवारी साधनको प्राविधिक परीक्षण, चालकको विश्राम र गति नियन्त्रण सुनिश्चित गर्न निर्देशन दिइएको छ । यात्रु ठगिनबाट जोगाउन सहज टिकट, भाडादरको कार्यान्वयन र गुनासो सुनुवाइको स्पष्ट कार्ययोजना ल्याउन पूर्वाधार मन्त्रालयलाई ताकेता गरिएको छ ।

बैठकमा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले अवरुद्ध बीपी राजमार्ग १० दिनभित्र वैकल्पिक ट्रयाक खोलेर वा अन्य विधिबाट सुचारु गर्ने प्रतिबद्धता जनाए ।  उनले गाडीको प्रि–बुकिङ, अनलाइन बुकिङ तथा नियमित अनुगमनको व्यवस्था मिलाइने जानकारी दिए ।

प्रतिक्रिया