बारीसँगै बदलिएको जीवन
परम्परागतबाट व्यावसायिक तरकारी खेतीतर्फ नानकला
दैलेख - बिहानको घाम विस्तारै बारीमाथि पर्न थालेको छ । हरिया बोटका पातमा टल्किएका शीतका थोपा अझै सुकेका छैनन् । यही हरियालीको बीचमा व्यस्त छिन –४३ वर्षीया नान कला खड्का ।
दैलेखको दुल्लु नगरपालिका–२ बोर्डकी नानकलाको हात माटोसँग खेल्न अभ्यस्त छन् । तर अहिले उनले माटोमा बाली मात्र रोपिरहेकी छैनन्, आफ्ना परिवारका लागि एउटा नयाँ सम्भावना पनि रोपिरहेकी छन् ।
करिब ८ रोपनीमा फैलिएको उनको बारी अहिले मौसमी र बेमौसमी तरकारीले भरिएको छ । बन्दा, काउली, टमाटर लगायतका तरकारी उनको नियमित उत्पादन हुन् । त्यसमध्ये टनेलमा लगाएको टमाटरले उनको खेतीप्रतिको उत्साह अझ बढाएको छ ।
तर यो हरियालीसम्म आइपुग्न उनको यात्रा सहज भने थिएन । केही वर्षअघिसम्म नानकला पनि गाउँका अन्य किसानजस्तै परम्परागत शैलीमै खेती गर्थिन् । बारीमा अन्नबाली हुन्थ्यो । घरमा खानका लागि तरकारी लगाइन्थ्यो । उत्पादन भयो भने परिवारको आवश्यकता पूरा हुन्थ्यो । बाँकी रह्यो भने छिमेकी वा बजारतिर बिक्री हुन्थ्यो । खेती जीवनको आवश्यकता थियो, तर आम्दानीको व्यवस्थित माध्यम बन्न सकेको थिएन ।
मेहनत थियो, समय थियो, जमिन थियो । तर आधुनिक प्रविधिको ज्ञान र व्यावसायिक सोचको अभाव थियो । त्यसैले खेतीबाट हुने आम्दानी पनि सीमित थियो। नान कलाको परिवारका लागि बारीले पेट त पाल्थ्यो, तर भविष्यका लागि ठूलो आधार बन्न सकेको थिएन ।
परिवर्तन त्यहीँबाट सुरु भयो
नानकला पानलोटा टुँडिखेल कृषि तथा पशुपंक्षी पालन समूहकी सदस्य हुन् । डीसिए नेपालको साझेदारी दुल्लु नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा सञ्चालित ग्रीन कर्णाली परियोजना उनको खेती यात्रामा एउटा नयाँ अवसर बनेर आयो ।
परियोजनामार्फत उनले कृषि प्रविधिसम्बन्धी तालिम र प्राविधिक सहयोग पाएको उनी बताउँछिन् । मेरो कृषि यात्रामा सोसेक नेपाल नयाँ अवसर बनेर आयो जस्ले गर्दा आज म यहाँ छु,’उनी भनन्छिन्, ‘मेरो व्यवसायिक कृषि खेती गर्ने यात्रामा साथ कसहयोग गरेकोमा म निकै खुशीसँगै सोसेक नेपाललार्य धन्यवाद व्यक्त गर्दछु ।’
नानकलाले खेती गर्ने तरिका मात्रै होइन, उत्पादनलाई कसरी व्यवस्थित गर्ने, नयाँ प्रविधि कसरी प्रयोग गर्ने र खेतीलाई आम्दानीसँग कसरी जोड्ने भन्नेबारे पनि सिक्ने अवसर पाएको उनी बताउँछिन् । परम्परागत खेतीको ठाउँमा आधुनिक प्रविधि थपियो । मौसमी तरकारीसँगै बेमौसमी उत्पादनतर्फ ध्यान जान थाल्यो। टनेलमा टमाटर खेती सुरु भयो । बारीको स्वरूप फेरियो। त्योसँगै उनको सोच पनि फेरियो । पहिले बारीमा उत्पादन भएको तरकारी परिवारको भान्सासम्म पुग्थयो । अहिले त्यही बारीको उत्पादन बजारसम्म पुग्न थालेको उनी बताउँछिन् । ‘घरका लागि चाहिने तरकारी आफ्नै बारीमा उत्पादन हुन्छ। उत्पादन बढी भएको बेला बिक्री हुन्छ, बिक्रीबाट आएको आम्दानीले घरखर्चमा सहयोग पुगेको छ,’उनले भनिन् ।
तर उनका लागि सबैभन्दा ठूलो परिवर्तन आम्दानी मात्र होइन—खेतीप्रतिको विश्वास हो । उनी भन्छिन्, ‘पहिले जीविकोपार्जनका लागि मात्रै खेती गर्थें, अहिले खेतीबाट आम्दानी गर्न सकिन्छ भन्ने विश्वास बढेको छ ।’
उनको यो भनाइसँगै उनको बारीको कथा पनि बुझ्न सकिन्छ । पहिले बारी परिवारको आवश्यकता पूरा गर्ने ठाउँ थियो । अहिले त्यही बारी परिवारको आर्थिक आत्मनिर्भरतातर्फ जाने बाटो बनेको ग्रीन कर्णाली परियोजनामा कार्यरत कृषि प्राविधिक अञ्जली भण्डारी बताउँछिन् ।
नानकलाको बारीमा पुग्दा टनेलभित्रका टमाटरका बोटहरूले उनको बदलिएको कृषि यात्रालाई अझ नजिकबाट देखाउँछन् । टनेलमा फल्दै गरेका टमाटर उनका लागि कृषि उत्पादन मात्र होइनन् । ती उनको सिकाइका परिणाम हुन् ।
परम्परागत तरिकाले खेती गर्दा प्रकृति र मौसममा बढी निर्भर हुनुपर्ने अवस्था थियो । आधुनिक प्रविधिको प्रयोगसँगै उनले खेतीलाई केही हदसम्म व्यवस्थित गर्न सकेको उनी बताउँछिन् । एकपछि अर्को नयाँ कुरा सिक्दै जाँदा अब आफ्नो बारीप्रति थप भरोसा लाग्न थालेको उनको भनाई छ ।
उनको चार सदस्यीय परिवारकी सदस्य हुन् । उनको करिब ८ रोपनी जमिन अहिले परिवारको आर्थिक यात्राको महत्वपूर्ण आधार बनेको छ ।
उनको कथा हेर्दा एउटा प्रश्न उठ्छ–कृषिलाई जीविकोपार्जनबाट आम्दानीको माध्यम बनाउन के चाहिन्छ ? उनको अनुभवले उत्तर पनि दिन्छ–ज्ञान, प्रविधि, प्राविधिक सहयोग र निरन्तर मेहनत ।
साना किसानले पनि आधुनिक प्रविधि अपनाउन सके, उत्पादनलाई बजारसँग जोड्न सके र आवश्यक सहयोग पाए भने खेतीलाई व्यवस्थित आम्दानीको स्रोत बनाउन सकिन्छ । उनको बारी त्यसैको एउटा उदाहरण बनेको छ ।
माटोमा रोपिएको आशा
आज पनि उनको दिन बारीबाटै सुरु हुन्छ । बोट हेर्ने, गोडमेल गर्ने, उत्पादन टिप्ने, बजार पठाउने र फेरि अर्को उत्पादनका लागि बारी तयार गर्ने–उनको दैनिकी यिनै कामको वरिपरि घुम्छ ।
कहिल्यै परिवारको पेट पाल्ने माध्यम मात्र बनेको खेती अहिले परिवारको आम्दानी बढाउने आधार बनेको उनी बताउँछिन् । परम्परागत खेतीबाट सुरु भएको उनको यात्रा आधुनिक र व्यावसायिक तरकारी खेतीसम्म आइपुगेको छ ।
८ रोपनी बारीमा उम्रिएका बन्दा, काउली र टमाटरभन्दा ठूलो कुरा त्यहाँ उनको आत्मविश्वास उम्रिएको छ । हरियो बारीसँगै उनको परिवारको भविष्य पनि हरियालीतर्फ अघि बढिरहेको छ । यो कथा तरकारी खेतीको कथा मात्र होइन–माटोलाई अवसरमा बदल्दै गएकी एउटी किसान महिलाको कथा हो ।
प्रतिक्रिया