नेपाली कांग्रेसको १५ औं महाधिवेशनः सोमबारदेखि बन्दसत्र सुरु हुने

नेपाली कांग्रेसको १५ औं महाधिवेशनः सोमबारदेखि बन्दसत्र सुरु हुने

काठमाडौँ - नेपाली कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंको खुलामञ्चमा विधिवत् रूपमा सुरु भएको छ । सभापति गगन थापाले पानसमा दीप प्रज्वलन गर्नुका साथै बिरुवामा जल सेचन गरी महाधिवेशनको समुद्घाटन गरेका हुन् ।

समुद्घाटनअघि विभिन्न सांस्कृतिक झाँकी तथा कलाकारहरूले गीत–सङ्गीत प्रस्तुत गरेका थिए । महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरू मञ्चमा सहभागी भएर शुभकामना दिएका थिए ।

महाधिवेशनमा सभापति गगन थापाले आगामी ५ वर्षका लागि पार्टीको राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको २९ बुँदे मुख्य कार्यपत्र प्रस्तुत गर्ने तयारी गरेका छन् ।   सोमबार बन्दसत्र सुरु हुनेतालिकाअनुसार सोमबार (असोज १९ गते) देखि बन्दसत्र सुरु हुनेछ ।

खुलामञ्चमै आयोजना हुने बन्दसत्रमा सभापतिद्वारा प्रस्तुत नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदनमाथि गहन छलफल गरिनेछ । बन्दसत्रलाई थप व्यवस्थित बनाउन हिमाल, पहाड र तराई–मधेस गरी तीनवटा छुट्टाछुट्टै हल (समूह) को व्यवस्था गरिएको छ । उम्मेदवारी मनोनयन प्रक्रिया अघि बढाउनुअघि विधान संशोधन प्रस्तावमाथि पनि महाधिवेशन हलमै छलफल गरी आवश्यक निर्णय लिइनेछ ।

  ७ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको यस महाधिवेशनमा आवास, भोजन, स्वास्थ्य, अतिथि सत्कार तथा सञ्चार व्यवस्थापनका लागि छुट्टाछुट्टै १५ वटा संयन्त्र परिचालन गरिएको छ । सभापति थापाकै संयोजकत्वमा केन्द्रीय व्यवस्थापन समिति गठन गरिएको छ । असोज १९ र २० गते बन्दसत्र सञ्चालन भएपछि असोज २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया