आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाली टोली ओमान प्रस्थान
तस्वीर : क्यान
काठमाण्डौ - आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आयोजक ओमान र क्यानडा सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली गएराति ओमानतर्फ प्रस्थान गरेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको औपचारिक कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्काले खेलाडीहरूलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । बिदाइका क्रममा सचिव खड्काले यो शृङ्खला लिग–२ को तालिकामा नेपालको स्थिति सुदृढ बनाउन निकै महत्त्वपूर्ण रहेको बताए । कप्तान सन्दीप लामिछानेले टोलीको तयारी उत्कृष्ट रहेको र खेलाडीहरू सकारात्मक नतिजा ल्याउन तयार रहेको उल्लेख गरे ।
ओमान पुगेपछि नेपाली टोलीले प्रतियोगिता सुरु हुनुअघि स्थानीय परिस्थितिमा ढल्किन अभ्यासका साथै एउटा अभ्यास खेलसमेत खेल्ने कार्यक्रम रहेको छ। तालिका अनुसार नेपालले प्रतियोगिताको पहिलो खेल असोज २५ गते क्यानडाविरुद्ध खेल्नेछ।
दोस्रो खेल असोज २७ गते आयोजक ओमानसँग हुनेछ। यस्तै, नेपालले असोज ३१ गते पुनः क्यानडाको सामना गर्नेछ भने शृङ्खलाको अन्तिम खेल कात्तिक २ गते ओमानविरुद्ध खेल्ने तय भएको छ। शीर्ष टोलीमा अटाएर विश्वकप छनोटमा पुग्ने लक्ष्य राखेको नेपालका लागि यो शृङ्खला निकै महत्त्वपूर्ण मानिएको छ।
प्रतिक्रिया